४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

सप्तरीको शिक्षा संकट : राजनीति र स्वार्थको मैदानमा अल्झिएको सामुदायिक विद्यालय

जनपक्षीय खबर

२०८२ भाद्र ८ गते, आईतवार ०७:५२ मा प्रकाशित

कैलाश माझी, सप्तकोशी

सप्तरीको सप्तकोशी नगरपालिका पछिल्लो समय शिक्षा क्षेत्रमा गम्भीर संकट देखापरेको छ। नेतृत्वबीचको असमझदारी, शिक्षकहरूको उदासीनता र राजनीतिक हस्तक्षेपका कारण सामुदायिक विद्यालयहरू क्रमशः अस्तव्यस्त हुँदै गएका छन्।

Order Now! 

सामुदायिक विद्यालय : शिक्षाभन्दा राजनीति प्रमुख

स्थानीयवासीहरूको गुनासो छ, सामुदायिक विद्यालयहरू अहिले ज्ञान दिन्ने मन्दिरभन्दा बढी राजनीतिक अखडा बनेका छन्। विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीहरू शिक्षणभन्दा सामाजिक सञ्जालको रमझम, राजनीति र व्यक्तिगत स्वार्थमा बढी केन्द्रित हुन थालेका छन्।

शिक्षकहरूको यस्तो चरित्रले विद्यार्थीको मनोबल मात्र घटाएको छैन, सामुदायिक शिक्षाप्रति अभिभावक र समाजकै विश्वास समेत खस्किँदै गएको छ। स्थानीय शिक्षाप्रेमीहरू भन्छन्, “शिक्षकहरूले आफ्नै बालबालिकालाई सामुदायिक विद्यालयमा नपढाई निजी विद्यालयमा भर्ना गर्न थालेपछि उनीहरूकै शिक्षामा विश्वास नरहेको प्रमाणित हुन्छ। आफैंले विश्वास नगरेको शिक्षालाई अरूलाई कसरी गुणस्तरीय भन्न सकिन्छ ?”

विपन्न परिवारमाथि अन्याय

सामुदायिक विद्यालयप्रति शिक्षक र कर्मचारीकै असन्तोषपूर्ण व्यवहारले दलित, विपन्न र गरिब परिवारका बालबालिकाको भविष्यसँग खेलवाड भएको स्थानीयहरूको बुझाइ छ। निजी विद्यालयमा शुल्क तिर्न नसक्ने भएकाले उनीहरू सामुदायिक विद्यालयमा सीमित हुन्छन्। तर त्यही विद्यालयमा गुणस्तर खस्किँदा उनीहरूको जीवन नै प्रभावित भइरहेको छ।

एक आक्रोशित अभिभावक भन्छन्, “शिक्षा भने सामुदायिक विद्यालयमा नराम्रो हुने तर जागिर भने सरकारी राम्रो हुने ? दुवै हातमा लड्डु हुन सक्दैन। सबै शिक्षक–कर्मचारीले आफ्ना बालबालिका सामुदायिक विद्यालयमै पढाउनुपर्छ।”

परीक्षाफलले खोलिदियो पोल

स्थानीय अभिभावक र सरोकारवालाहरूको चिन्ता केवल भनाइमा सीमित छैन। हालै सार्वजनिक भएका माध्यमिक शिक्षा परीक्षा (SEE) र कक्षा १२ को नतिजाले समेत सामुदायिक विद्यालयको वास्तविकता उजागर गरिदिएको छ। वर्षैपिच्छे नतिजा खस्कँदै जानुले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन असफल भएको प्रमाणित भएको छ।

विद्यार्थीहरू पठनपाठनमा भन्दा निजी ट्युशन वा तयारी कक्षामा भर पर्नुपर्ने अवस्था आएको छ। विद्यालयमा नियमित अध्ययन नभई “सरकारी काम कहिले जाला घाम” भन्ने उखानजस्तै शिक्षकहरूको ढिलोसारो प्रवृत्ति सामुदायिक विद्यालयका लागि घातक बन्दै गएको छ।

शिक्षा सुधारको माग

सामुदायिक विद्यालयमा देखिएको समस्या केवल व्यवस्थापनको कमजोरी वा शिक्षकको उदासीनतामात्र होइन, समग्र नीतिगत त्रुटि र राजनीतिक प्रभावसँग गाँसिएको छ। शिक्षालाई निष्कलङ्क, पवित्र र राष्ट्र निर्माणको आधार मानिनुपर्नेमा यसलाई स्वार्थपूर्ति गर्ने साधन बनाइएको स्थानीय शिक्षाप्रेमीहरूको आरोप छ।

एक अभिभावकले भने, “आजको पुस्ताले गुणस्तरीय शिक्षा पाएन भने भोलिको राष्ट्र कमजोर बन्छ। यसकारण शिक्षकले आफ्ना व्यक्तिगत कामभन्दा विद्यार्थीलाई प्राथमिकता दिनुपर्छ।”

निष्कर्ष

सप्तरीको सप्तकोशी नगरपालिकामा सामुदायिक विद्यालयको अवस्था दिनानुदिन खस्कँदै गएको छ। शिक्षकहरूको उदासीनता, राजनीतिक हस्तक्षेप, अभिभावकको असन्तुष्टि र कमजोर व्यवस्थापनका कारण शिक्षा क्षेत्र गहिरो संकटतर्फ धकेलिएको छ।

यदि तत्कालै सुधारात्मक पहल नभएको खण्डमा सामुदायिक विद्यालय थप खस्किँदै जाने र विपन्न वर्गका बालबालिका गुणस्तरीय शिक्षा पाउनै नसक्ने निश्चित छ। नगरवासीको चेतावनी स्पष्ट छ —

“अब पनि सचेत भएन भने सामुदायिक शिक्षा सम्पूर्ण रूपमा धरापमा पर्छ, र यसको मूल्य भविष्यका पुस्ताले तिर्नुपर्ने हुन्छ।”

1230x100 pixels ads space