माग बढे पछि मूल्य स्वत बढ्ने नै भयो : अर्जुन बस्नेत
धादिङ्ग , १३ मंसिर :– बेनिघाट रोराङका कृषकहरुमा खुसि छाएको छ । यो बर्ष अहिले सम्मकै उच्च दरले तरकारी बिक्रि भएको हो । तरकारीको भाउ आकासिए पछि रोराङका कृषकहरु खुसि भएका छन् ।
बेनिघाट रोराङ – ७ चरौँदि धादिङमा रहेको श्री कृषक सुधार फलफुल तथा तरकारी सहकारी संस्था लिमिटेडमा रोराङको १० वडा मध्ये ९ र १० बाहेक ८ वटा वडाबाट दैनिक तरकारी आउने गरेको छ । यस्तै गण्डकी गाउँपालिका गोर्खा देखि पनि फलफुल तथा तरकारी आउने गरेको छ । अहिले सरदर दैनिक जोखिने तरकारी २० हजार के.जि छ । लिलिया भेन्टा, भेण्डी, हाईब्रेड सिमि, लोकल सिमि, हरियो बोडी, लौका, करेला, गोलभेडा लगाउत विभिन्न जातका तरकारीहरु आउने गरेको सोही सहकारीका ब्यबस्थापक अर्जुन बस्नेतले जानकारी दिनु भयो ।
जनपक्षीय खबरले सोहि सहकारीको ब्यबस्थापक अर्जुन बस्नेतसँग गरेको कुराकानी
१) उक्त सहकारीमा सिण्डिकेट छ ?
म आउनु अगाडि के थियो थाहा छैन । यो सहकारीमा जब म आए । सबै ब्यबस्थापन राम्रो छ । सल्लाह अनुसार सुधार गर्नु पर्ने सुधार गर्दै जाने हो । कृषकले उत्पादन गरेको तरकारी खरिद गर्न बाहिर जुनसुकै ठाउँबाट पनि व्यापारी आउन सक्छ । यसमा रोकतोक हुदैन । तरकारीको गुणस्तर हेरेर ब्यापारीहरु बिच तरकारी खरिदमा प्रतिस्पर्धा हुन्छ ।
२)कृषि क्षेत्रमा लागेका श्रमजिबि कृषकका लागि सहकारीले कस्तो सहयोग गर्छ ?
– हाम्रो सहयोग भनेको त्यस्तो देखिने गरि छर्लङ्ग छैन् । सहकारीले सहयोग गर्नलाई आर्थिक रूपमा सम्पन्न छैन । सुपथ मुल्य बजार चलाउने , मल बिउबिजन , बिषादि समयमा उपलब्ध गराईदिने , कृषकले सहकारीमा तरकारीको मुल्य कम पायो भने कालिमाटि पठाईदिने ब्यबस्था सम्म सहकारीले गर्छ । काठमाडौ कालिमाटि तरकारी बजारको स्टल नम्बर ६७१ सहकारीको नाममा छ । सिधै कृषकले कालिमाटि पठाउन पनि सक्छ । तरकारी नबिकेको खण्डमा सहकारीले नै तरकारी खरिद गर्छ ।
३) नेपालका कुन–कुन सहरमा पुग्छ यो सहकारीको फलफुल तथा तरकारी ?
– कालिमाटि तरकारी बजार देखि लिएर बुटवल, पोखरा, नारायणगढ, भैरहवा, बिरगञ्ज जान्छ । ठ्याक्कै यहि ठाउँमा जान्छ भन्ने चाहि हुदैन । तरकारीको बजार भाउदर हेरेर पठाउने गरिन्छ । यो साल अत्याधिक तरकारीको माग बढेको छ । माग बढेपछि मूल्य स्वत बढ्ने नै भयो ।
४) तपाईं ब्यबस्थापक भएपछि सहकारीमा के – के सुरुवात गर्नु भयो ?
–हामीले बजार ब्यबस्थापनलाई जोड दिई रहेका छौ । सिण्डिकेट अन्त्य भएको छ । तरकारी खरिद बिक्रि कक्षहरु ब्यबस्थापन भएको छ । पहिले जथाभाबि थियो । कृषकलाई जानकारी होस भनेर दैनिक फलफुल तथा तरकारीको भाउ सामाजिक सञ्जाल मार्फत प्रसारण गर्छाैँ ।