गण्डकी गाउँ पालिकामा चोरको बिगबिगी, पालिकाले निकाल्यो यस्तो सुचना
काठमाडौँ । विगत केही समय अघि देखि गण्डकी गाउँ पालिकाको वडा नं. ७ र ८ मा भइरहेको श्रंखलाबद्घ चोरीको घटनाले स्थानिय बासिन्दा आतंकित भैरहेका छन । पटक पटक भएको चोरीको घटनामा कसैले पनि कुनै किसिमको सुराक पाउन नसकेको जनगुनासो छ । यसै जन गुनासोलाई मध्यनजर गर्दै पालिकाले सुचना प्रकाशित गरेको छ ।
गण्डकी गाउँपालिका तथा वडा कार्यालयले प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी वडामा थप गस्ती तथा निगरानी बढाउनको लागि आवश्यक स्रोत साधनको व्यवस्था पालिकाले गरी प्रहरीबाट नियमित गस्ती भैरहेको छ । अनुसन्धान कार्यालयको टोली समेत सुक्ष्म रुपमा अनुसन्धानमा खटिएको छ ।
गण्डकी गाउँ पालिका वडा नं. ७ मा निगरानी बढाउनको लागि पहिले नै जडान भएको सि.सि.टि.भि क्यामेराहरुको मर्मत गर्ने र अन्य ४ वडा भित्रिने तथा बाहिरिने नाकाहरुमा थप सि.सि.टि.भि क्यामेराहरु जडानको लागि बजेट बिनियोजन तथा कार्यान्वयन भई अन्तिम चरणमा पुगेको सुचनामा बताइएको छ । गाउँपालिकाले वडा नं. ७ र ८ छिर्ने मुख्य नाकाहरुमा २४ घण्टा निगरानी राख्ने कार्य अघि बढाएको छ ।
पटक पटक भएको चोरीको घटनामा हालसम्म कुनैपनि सुराक भेटिएको छैन । हाल यसै चोरीको घटनाको सुक्ष्म अनुसन्धान भैरहेकोले कुनै किसिमको शंकास्पद व्यत्ति वा शंकास्पद गतिविधि देखिए वडा कार्यालय वा प्रहरी कार्यालयमा खबर गर्न पालिकाले अनुरोध गरेको छ ।