आइसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल क्यानडासँग स्तब्ध
काठमाडौं १ असोज
नेपाल ओडिआई ईतिहासमा क्यानडासँग पहिलो पटक स्तब्ध भएको हो । नेपालले यस अघि क्यानडासँग ३ पटक आमन्ने सामन्ने हुदा नतिजा सकारात्मक (जित) थियो ।
क्यानडाको किङ्ग सिटीमा भएको खेलमा नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भयो । क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा अल आउट हुनुपुर्व मात्र १ सय ५० रन जोड्न सक्यो ।
नेपालका लागि सन्दीप लामिछानेले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा सर्वाधिक २२ रन बनाए । ओपनर आसिफ शेखले ३० बलमा २० रन बनाउँदै आउट भए । अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ बलमा ५ रन बनाए । यि चारै खेलाडी क्यानडाका तीव्र गतिका बलर डेलिन हेलिगरको बलमा आउट भएका थिए ।
गुलसन झाले २७ बलमा १५ रन जोड्दै डेलिन हेलिगरको बलमा एलबिडब्लु आउट भए । नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका भीम सार्की ३० बलमा १८ रन बनाए । भीम यसै खेलमा डेब्यु गरेका अखिल कुमारको बलमा एलबिडब्लु आउट भए ।
क्यानडाका लागि डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए । अन्श पटेल र अखिल कुमारले समान २ तथा साद विन जाफरले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन जोड्न सक्यो । नेपालले डेथ ओभरमा पुनः एकपटक खराब बलिङ गर्दा मध्य इनिङको दबाबलाई कायम गर्न सकेन । अन्तिम १० ओभरमा नेपालका बलरले १ सय ४ रन खर्चिए ।
क्यानडाका लागि कप्तान निकोलस किर्तनले ४४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा नटआउट ७३ रनको अर्धशतकीय ईनिङ खेले । नबनित धालीवालले ९० बलमा ४८ रन जोडे । अर्धशतक बनाउनबाट २ रन टाढा रहेका धालीवाल गुलसन झाको बलमा कुशल भुर्तेलबाट क्याच आउट भएका थिए ।
डेलिन हेलिगरले २७ बलमा ३० रन जोड्दै ललितको बलमा आउट भए । हर्ष ठाकरले ६१ बलमा २७ रन जोड्दै रन आउटको शिकार हुन पुगे । प्रगत सिंह ३५ बलमा १७ रन जोड्दै सन्दीप लामिछानेको बलमा एलबिडब्लु आउट भए । सादविन जाफर १३ बलमा १७ रन जोड्दै सोमपाल कामीको बलमा करण केसीबाट समातिए ।
नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान २ तथा सन्दीप लामिछाने, गुलसन झा, रोहित पौडेलले समान १ विकेट लिए ।
विश्वकप २०२७ को छनोटको रुपमा रहेको लिग टु मा ८ टोलीको सहभागीता रहेको छ । जितसँगै क्यानडा भने ८ खेलमा ५ जित र ४ हारका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित नेपाल ४ खेलमा १ जित र ३ हारका साथ अंकतालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । यूएई ३ खेलमा विना अंक पुछारमा छ ।
लिग टुमा सहभागी हरेक राष्ट्रले ३६ वटा ओडिआई खेल्नेछन् । अंक तालिकाको शीर्ष चार टोलीले २०२७ को विश्वकपका लागि हुने ग्लोबल छनोटमा स्थानमा बनाउने छ ।